
नेपालका उद्योगी-व्यवसायीहरुले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरु हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरुले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको बताएका हुन् । उनले भने, ‘सरकारले ल्याएको अध्यादेश महत्त्वपूर्ण छ । यसले धेरै आर्थिक रिफर्मका कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि आग्रह गर्दछु ।’
उनले उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरुले गर्ने यस्ता नवप्रवर्तनका कामहरुलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरुलाई लगानी र स्टार्टअपतर्फ आकर्षित गर्न सकिने बताएका छन् । उनले कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरुलाई उद्यम क्षेत्रमा प्रवेश गर्न महत्त्वपूर्ण भूमिका खेल्नेसमेत बताएका छन् ।
प्रभावकारी रुपमा ‘स्टार्ट अप’ चलाउन सके रोजगारीमा क्रान्ति हुन्छ : देउवा
काम गर्ने इमानदारिता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘यो श्रेणीमा आउन मलाइ ४० वर्ष लाग्यो । पहिला चुनौती थियो अहिले धेरै सहज छ । अहिले बैंक र वित्तीय संस्थाले सहज रुपमा ऋण लिन सकिने व्यवस्था गरेका छन् । विभिन्न समिटहरु भइरहेका छन् । त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ ।’
त्यसैगरी नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । उनले भनिन्, ‘सहज ढंगले उद्योग व्यवसाय गर्नका लागि आर्थिक नेटवर्किङ धेरै महत्त्वपूर्ण भएकाले बैंक बित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरुका लागि विश्वास गर्नुपर्छ । जबसम्म हामीले नेपालमै उत्पादित सामग्रीको प्रयोग गर्न सक्दैनौं तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौं । सुरुमा आफूले आफैंलाइ विश्वास गर्न सक्नुपर्छ ।’
साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न स्टार्ट अप समिट गरिएको हो : मीन विश्वकर्मा
नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमी आबद्ध छन् । देशभर लाखौं उद्यमीहरुलाई यसमा जोडन भूमिका खेलेको अध्यक्ष ज्ञवालीले बताएकी हुन् ।
नेपालमा महिलाहरु आफैं आत्मनिर्भर बनेर अगाडि बढ्न निरन्तर प्रयत्न गरिरहेको समेत उनले बताइन् । उनले थपिन्, ‘हामीले राज्यलाई भनेका छौं र ५२ प्रतिशत महिला छौं । हामी ५० प्रतिशत अधिकार राजनीति वा व्यावसायिक जीवनमा पनि प्रयोग गर्न चाहन्छौं र त्यसका लागि अवसर दिनुपर्छ,’ बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डेले विदेशिने युवाहरुलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरुबाट मुक्त गरिनुपर्ने बताए । उनले भने, ‘नेपालमा युवा पुस्ताले साइड बिजनेस गरेर लाखौं कमाइरहेका छन् । केही नभएको भन्ने होइन तर युवा पुस्तालाई विदेशीनबाट रोक्न लगानीमा सहजीकरण र कानुनी अड्चनहरु फुकाउनुपर्ने देखिन्छ ।’
उनले वैकल्पिक लगानीलाई खुला गर्नुपर्नेसमेत तर्क गरेका छन् । उनले भने, ‘हामीले वैकल्पिक लगानीलाई पनि खुला गर्न आवश्यक छ, जसका कारण बैंक तथा वित्तीय संस्थासँग मात्र भर पर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वित्तीय संस्थाले ठुलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे । उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन । उनले सकारात्मक सोचसहित व्यवसाय गर्न युवा वर्गलाई जागृत गर्नसके आर्थिक परिवर्तन सम्भव हुने धारणा राखे ।
२७ वर्षदेखि निरन्तर उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेशकुमार गुप्ताले पछिल्लो समय स्टार्टअपको दायरा बढ्दै गएको बताएका छन् । उनले भने, ‘केही वर्षयतादेखि स्टार्टअपको दायरा फराकिलो बन्दै गएको छ । हामीले निरन्तर उद्यमी नहुन्जेल फलो गरिरहेका छौं । गत वर्षदेखि हामीले स्टार्टअप कर्जासहितको नीति अगाडि बढाएका छौं । आगामी दिनमा यो क्षेत्र झनै फराकिलो बनेर अगाडि बढ्ने आधार तयार भइरहेका छन् ।’
उद्यमशीलताको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । उनले भने, ‘सरकारले उद्योगी-व्यवसायीका लागि कानुनी व्यवस्थाको सहजीकरण गर्ने हो भने युवाहरु व्यावसायिक क्षेत्रमा प्रवेश गर्न असहज छैन ।’