भक्तपुर, माघ १९ :

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन दुई उपप्रधानमन्त्रीले त्यस क्षेत्रको अवलोकन गरेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्वसचिव मणिराम गेलाल, काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायब आयुक्त नवराज प्याकुरेललगायत वडाध्यक्षहरू तथा सरोकारवालाहरूको सहभागिता थियो ।

चाँगुनारायण नगरपालिकालाई एक उच्चस्तरीय नगर बनाउन अवलोकन गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनाए । चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समयदेखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा सहरी विकासमन्त्री स्वयं अवलोकनमा निस्किएका थिए ।

उनीहरुले चाँगुनारायण नगरपालिकाका १, दुवाकोटबाट वडा नम्बर २ अनि वडा नम्बर ३ झौखेल र चार नम्बर वडाका चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गरेका थिए ।

चाँगुनारायण नगरपालिकाअन्तर्गत ३५ हजार रोपनीमा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडि बढाइने अर्थ तथा सहरी विकासमन्त्रीले बताएको नगर प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार लामो समयदेखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोलीसहित नगरपालिका क्षेत्रको अवलोकन भएको हो ।

चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताए । अर्थ तथा सहरी विकासमन्त्रीका साथमा उपत्यका विकास प्राधिकरणका पदाधिकारी तथा नगरका सरोकारवालाहरूको अवलोकनबाट छिटोभन्दा छिटो स्मार्ट सिटी कार्यान्वयनको अवस्थामा आउनेमा आफू विश्वस्त भएको उनले बताए ।

स्मार्ट सिटीअन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसात् गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको उनले जानकारी दिए ।