
आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ ।
गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । रेश्मा पुन र उकेश रावलको स्वर छ । यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । गीतले किशोर-किशोरीको प्रेमलाई झल्काउँछ । यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् ।
यसअघि यस चलचित्रको पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको थियो । सो गीत युट्युबमा नेपाल ट्रेन्डिङको १६औँ स्थानमा रहेको छ । नेपालीहरूको बसोबास रहेका अन्य केही देशहरूमा पनि ट्रेन्डिङमा छ । ‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृंखला ‘होस्टेल’ को तेस्रो संस्करण हो ।
चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा रहेको छ ।
पारस र सिम्रनसहित चलचित्रमा रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी र समा पराजुलीको प्रमुख अभिनय छ । यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायत कलाकारको अभिनय हेर्न सकिन्छ । चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो ।
निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शंकर कोइराला हुन् । सह-निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिष सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।
अर्जुन तिवारी डीओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, यमप्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । चलचित्रका संगीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन् । जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।
यो चलचित्र फागुन २३ गते नेपालबाहिरका विभिन्न देशमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।