
नेपालमा गैरकानुनी रहेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को संगठित रूपमा कारोबार तथा अनलाइन स्क्याममा संलग्न रहेको अभियोगमा ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली बर्दगोरिया गाउँपालिका ६ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका ८, गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरा, कैलाली बर्दगोरिया गाउँपालिका ६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बूढानीलकण्ठ नगरपालिका ८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा भीमेश्वर नगरपालिका ४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ८, तेजविनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाई, रौतहट गौर नगरपालिका ९ घर भई काठमाडौं बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारत प्रतापपट्टी साहेबगन्ज बिहार घर भई काठमाडौं महानगरपालिका २५ बस्ने २७ वर्षीय रेशनकुमार र भारत पूर्वी चम्पास बिहार घर भई काठमाडौं महानगरपालिका ९ बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट नगद पाँच लाख ५० हजार रुपैयाँ, कम्प्युटर २ थान, मोबाइल १३ थान र विभिन्न बैंकको चेक १९ थान प्रहरीले बरामद गरेको छ ।
उनीहरूले विभिन्न व्यक्तिलाई संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको, विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भनि निजहरूको ओटीपी/पिन माग गरी अनाधिकृत रूपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पुर्याई रकम ठगी गर्ने गरेको, विभिन्न सामाजिक सन्जालमा अनलाइन जब, अनलाइन ग्याम्बलिङ आदि जस्ता आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाइ साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटमा पहुँच पुर्याई निजहरूको रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यसैगरी ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने, विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारेर उनीहरुको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूमा खाता खोल्न लगाई उक्त खाता आफूले प्रयोग गर्ने र प्रयोग गरे बापत निश्चित रकम दिने गरेको र यस्ता खाताहरूमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने तथा हुन्डी कारोबार गर्नसमेत प्रयोग गर्ने गरेको खुल्न आएको छ ।
हालसम्म उनीहरूले ३ अर्बभन्दा बढी रकम ठगी गरेकोसमेत खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।