गायिका एलिना चौहानले आफ्नो सम्बन्धविच्छेबारे मुख खोलेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै उनले आफूहरूले सल्लाह गरेरै छुट्टिने निर्णय गरेको हुँदा यस विषयलाई कमाइखाने भाँडो नबनाइदिन आग्रह गरेकी छन्।
आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले खाएको भन्दा पनि बढी पीडा हुने भन्दै उनले विष्णुलाई गाली नगर्नसमेत आग्रह गरेकी छन्।
‘बरु मलाई गाली गर्नू तर उहाँलाई गाली नगर्नू। आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले खाएको भन्दा पनि बढी हुने रहेछ,’ उनी भनिन्,’भोलि योभन्दा ठूलो अवस्था आउन नदिनका लागि हामी छुटेका हौं।’ दुबैजनाले सल्लाह गरेर नै यो निर्णय लिएको प्रष्ट पार्दै चौहानले भनिन् - अदालतको कुरो कसरी बाहिर आयो यो मलाई थाहा भएन ।
उनले कसैले पनि विवाह डिभोर्स होस् भनी नगर्ने भन्दै यो घटनाबाट सिकेर नयाँ जीवनको सुरुवात गर्न चाहेको बताइन् । उनी भन्छिन्,’अब नयाँ जीवनको सुरुवात गर्न चाहन्छु। जानेरै प्रेम गरेर। हतारिए पनि बुझेरै विहे गरें। अब सिकें।’ उनले आफ्नो जस्तो सबैको बुवाआमा होस् भन्ने समेत कामना गरेकी छन् ।
उनले श्रीमान् विष्णु सापकोटासँग विवाह गरेको वर्षदिन पनि नबित्दै डिभोर्सका लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।