काठमाडौं, माघ २१ :

स्वर्गद्वारी गुठीपीडितले काठमाडौंको माइतीघरमा प्रदर्शनसहित धर्ना दिएका छन् । दुईबुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको मुख्य माग छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग २०८० चैत ७ गते भएको दुईबुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो ।

स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्ने र संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता गर्दै गुठीसम्बन्धी कानुन कानुन निर्माणमा सल्लाह सुझाव दिने सहमति भएको थियो ।

उनीहरु दाङको देउखुरीबाट यही माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका थिए । परम्परागत पोसाकमा आएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकियालगायत सामग्री बोकेका छन् ।

गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै उनीहरु माइतीघर मण्डला पुगेका हुन् । सरकारले माग पूरा नगरेसम्म अनिश्चितकालीन धर्नामा बस्ने भन्दै उनीहरु काठमाडौं आएका हुन् ।