कास्की, माघ २२ :

नेपाली कांग्रेसले पोखरामा पार्टीका प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ। 

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबार भएको यस कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति   शेरबहादुर देउवाले गरे।

यस अवसरमा, देउवाले वर्तमान राजनीतिक अवस्था, सरकार र गठबन्धनका बारेमा कुनै टिप्पणी नगरी पोखराको प्राकृतिक सुन्दरताको चर्चा गर्दै आफ्नो भनाइ टुंग्याए।

सभापति देउवा र विभाग प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीले प्रशिक्षित गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेश प्रचारप्रसार विभाग सदस्य सचिव राजबहादुर गुरुङले जानकारी दिए । 

गण्डकी प्रदेश समितिको व्यवस्थापनमा आयोजित यस कार्यक्रममा सातवटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी र कास्कीका केन्द्रीय सदस्य तथा प्रदेश समितिका पदाधिकारीहरूको सहभागिता रहेको छ 

पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ ।

सभापतिहरुको २३ गते समापन हुने कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने जनाइएको छ ।