
‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’ (एनसीआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्यूएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै सुरु भएको ३ दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रहरुलाई अवार्ड वितरणसँगै समापन गरिएको थियो ।
राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी र अन्तराष्ट्रियतर्फ भारतको चलचित्र पुभुले सर्वोत्कृष्ट चलचित्र अवार्ड प्राप्त गरेको छ । राष्ट्रियतर्फ प्रतिस्पर्धा सहभागी चलचित्रहरु बुलाकी, पुजार सार्की, डेसान, पखेटा र विच्छेद मध्ये ‘पुजार सार्की’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका थिए । उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउत, उत्कृष्ट छायाकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकाल, इन्करेजमेन्ट अवार्ड बुलाकीबाट अभिनेता नरेन खड्काले र उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र पखेटाबाट सनोल दासले हासिल गरेका छन् ।
यस्तै राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, वृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन श्रेष्ठले कल्चरल चलचित्रको अवार्ड चिपागु निलाबाट योवन शाक्यले, जुरी मेनसन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेसल मेनसन अवार्ड सर्ट फिल्म थ्रेसोल्डबाट सरिता शाहले र एभोन्टोज पपुलर अवार्ड चलचित्र लेट नाइटबाट ओविन उद्दिनले प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा वरिष्ठ संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजित बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, चलचित्र निर्माता एवं निर्देशक रौनकविक्रम कँडेल, निर्देशक दिनेश लिङ्देन र टेलिभिजनकर्मी टीकाराम यात्री थिए ।
सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अग्रज संगीतकार एवं महोत्सवका राष्ट्रियतर्फ निर्णायक प्रमुख शम्भुजित बासकोटा, नेपाली र विदेशी निर्णायकहरू, अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहलगायतले विजेताहरूलाई अवार्ड प्रदान गरेका थिए । चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहआयोजनामा आयोजित महोत्सवमा ४७ देशका ९८ वटा चलचित्र अन्तिम प्रतिस्पर्धामा थिए । यी सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चलचित्र पुभुबाट उत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड मन्जुलन केभीले हासिल गरे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड जर्मनीबाट चलचित्र इम्पियोरबाट अभिनेत्री युनिस कचिरुवाले हासिल गरिन् । उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड अमेरिकाको चलचित्र ला फोर्सबाट जी ओभानी एम जेल्कोले हासिल गरे । अन्तर्राष्ट्रिय लघु चलचित्रको अवार्ड बंगलादेशको सर्ट फिल्म सौदा, उत्कृष्ट महिला चलचित्रको अवार्ड रसियाको चलचित्र द री युनियनबाट लोलिता नारान ओभिचले, बाल चलचित्रको अवार्ड भियतनामको चलचित्र लस्ट फर फ्रिडमबाट जाकुभ जाजाकले हासिल गरे ।
अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड क्यानडाको चलचित्र नुरागा भूमिबाट डानियल खान डा लिल्भाले, इन्भारोमेन्टल चलचित्रको अवार्ड स्पेनको चलचित्र द सोल अफ ज्यास्मिनबाट मरिना गार्सिया एन्ड्युले, अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड अमेरिकाको अमेरिकन फुल ब्रोडबाट क्रिस्टिना होडेलले हासिल गरे । यस्तै एनिमेसन चलचित्रको अवार्ड साउथ अफ्रिकाको चलचित्र फ्लावर अफ दी पार्टिसनबाट चार्लेस बाडेनहोस्टले, अन्तर्राष्ट्रिय छायांकारको अवार्ड स्पेनको चलचित्र स्पिक सन लाइटबाट जसी लुईस अल्कानीले, उत्कृष्ट चलचित्र स्कृप्टको अवार्ड इटालीको चलचित्र आउट डियरबाट ऐस्यान्डो लियोनीले, जुरी मेन्सन अवार्ड अर्जेन्टिनाको चलचित्र द टेम्पल अफ इन्टरनल साउन्डबाट जर्ज क्याराभोटाले, स्पेशन मेन्सन अवार्ड बेलायतको चलचित्र लकडाउन गर्डेन डायरीबाट एड्रिना उलिकले प्राप्त गरे । यस्तै पपुलर अवार्ड जर्मनीको चलचित्र सिड विथ मीबाट अकिफा मियानले, इन्करेजमेन्ट अवार्ड नेपालको चलचित्र जाईन पपेट्स फर डिज्निफाइड मेन्सुरेसनबाट ओडीटी लारामीले हासिल गरे ।