काठमाडौं, माघ २२ :

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोक्दा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई भने कुनै जिम्मेवारी दिएन ।

पदाधिकारी बैठकमा सोमबार उनले उत्पादन क्षेत्रको जिम्मेवारी पाउने सहमति भए पनि उनलाई पार्टीको कुनै पद दिइएको छैन । पासाङलाई तत्काल पदाधिकारी बनाउन सम्भव नभए पनि  उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय भएको उपमहासचिव शक्ति बस्नेतले बताए ।

माओवादीमा २२ जना पदाधिकारीको व्यवस्था गरिएको हुँदा यसमा थप गर्न संशोधन गर्नुपर्ने हुन्छ ।पासाङलाई आमन्त्रित सदस्यको हैसियतमा बैठकमा सहभागी हुँदै आएका छन् ।

पासाङले पुनः राजनीतिमा फर्कन खोजेपनि उनका सहकर्मीले भने त्यति मन पराएका छैनन् । पार्टीमा प्रवेशको विषयमा केन्द्रीय समिति बैठकमा पनि छलफल भएको थियो । त्यहाँ धेरै जसो सदस्यहरुले उपराष्ट्रपति भइसकेका व्यक्तिहरूलाई पार्टी राजनीतिमा फर्कन नहुने विचार राखेका थिए ।

माओवादीले पासाङलाई तत्काल उत्पादन क्षेत्रको जिम्मेवारी थमाएर भविष्यमा कुनै महत्वपूर्ण पनि दिने सम्भावना भने कायमै रहेको स्रोतले जनाएको छ ।दुई कार्यकाल उपराष्ट्रपति भइसकेका पुन कार्यकालपछि आमन्त्रित सदस्यका रूपमा पार्टीका हरेक बैठकमा सहभागी हुँदै आएका छन् ।