
काठमाडौं उपत्यकाको तीन प्रमुख सहर जोड्ने चक्रपथ विस्तारका लागि नेपाल र चीन सरकारका प्रतिनिधिबीच हस्ताक्षर भएको पनि लामो समय भइसक्यो । तर कहिलेदेखि काम सुरु हुन्छ भन्ने विषय अझै अलमल नै छ ।
गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । काममा ढिलाइ हुँदा जनप्रतिनिधिले समेत सदनमा पटक-पटक कुरा उठाउँदै आएका छन् । तर सुनुवाइ भएको छैन ।
कलंकीदेखि महाराजगन्जसम्म विस्तार गर्ने तयारी स्वरुप सडक किनाराका रुखहरु समेत काटेको पनि लामो समय भइसक्यो । विशेषगरी बालाजुदेखि नयाँबसपार्क सम्मको सडकको अवस्था दयनीय छ । सडक निर्माणले कहिले गति लिने हो भन्ने सर्वसाधारणको चासो छ ।
सडक विस्तारको काम चाँडो अघि बढाउन विभिन्न पक्षबाट पटक-पटक खबरदारी गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरिरहेका छन् । सडक बन्ने आशमा बसेका स्थानीय बासिन्दा निराश बनेका छन् ।
काठमाडौं ठुलो भर्याङका सुवर्ण बरालले घरमा झ्याल ढोका बन्द गर्दा पनि धुलोले सुत्ने कोठादेखि भान्सासम्मै छपक्क हुने गरेको दुखेसो जनाउँछन् । सडक निर्माणको ठेकेदार कम्पनी र नेताहरुले जनताले खेप्नुपरेको सास्ती नदेखे झैं गरेर बसेको भन्दै समयमै निर्माण सम्पन्न भए जनताले सास्ती खेप्नुपर्दैनथ्यो कि ? ‘सडक निर्माण कहिले सकिने हो पत्तो छैन, धुलोले सुत्ने कोठादेखि भान्सासम्मै ढाकियो,’ उनले भने ।
यस्तै हलचोकमा बस्दै आएका मञ्जिल घिमिरेले सडक निर्माणको कामले गति नलिँदा धुलोले बसिनसक्नु भएको बताए । बाटोमा थुपारेको ग्राभेल र ढुंगाहरु राखेको लामो समय भइसक्दा पनि काम नभएकामा उनी निर्माण कम्पनीलाई नै दोषी देख्छन् । समयमै काम नसक्ने ठेकेदारलाई सरकारले जरिवाना तिराएरै भए पनि तदारुकताका साथ पूरा गराउनुपर्ने उनको सुझाव छ ।
यस्तै सबैतिरको काममा ढिलासुस्ती हुँदै गए मुलुक कहिले पनि उँभो लाग्न नसक्ने मन्जिल घिमिरे बताउँछन् । उनी प्रतिप्रश्न गर्दै भन्छन्, ‘यसरी मुलुक कहिले उँभो लाग्ला ?’
जेहोस् सम्झौताबमोजिम काम नगर्ने ठेकेदारलाई हटाएर होस् या अर्को पक्षसँग सम्झौता गरेर भए पनि सरकारले चक्रपथ विस्तारको काम समयमै सम्पन्न गर्नुपर्नेमा सबैको जोड छ । लामो समय जनतालाई धुवाँधुलोको सास्तीभन्दा पनि विकास निर्माण भएको खण्डमा सरकारले पनि जस पाउँथ्यो कि ?