
बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा आज (मङ्गलवार) बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सुरु हुने भएको छ ।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आगामी आजदेखि सबै प्रादेशिक अस्पताल बिहान ८ बजेदेखि सञ्चालन हुने जानकारी दिएका हुन् ।
योसँगै बिरामीलाई सहज हुने भएकाले सोहीअनुसार सेवा लिन आउन उनले सबैलाई अनुरोध गरेका छन् ।
माघ २२ अर्थात आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालनसँगै प्रादेशिक अस्पतालको सेवा विस्तार गर्न थालिएको उनले बताए ।
थापाले सङ्घीय सरकारले देशैभरि १६ लाख किशोरी एचपिभी खोप लगाउन सुरु गरेकाले उक्त अभियान सफल पार्न सबैलाई आह्वान समेत गरेका छन् ।
उनले प्रदेशभित्रका कम्तीमा एक सय शय्याका प्रादेशिक अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्न पाउने नीति प्रदेश सरकारले पारित गरेको पनि जानकारी दिएका छन् ।
सरकारले प्रदेशसभामा पेस गरेको स्वास्थ्य ऐन पारित भएसँगै नर्सिङ कलेज सञ्चालनसम्बन्धी नीति कार्यान्वयनमा आएको बताउँदै मन्त्री थापाले तीन सय शय्याको भक्तपुर अस्पतालले आगामी शैक्षिकसत्रदेखि नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।
स्वास्थ्यमन्त्री थापाले प्रदेशभित्र राजमार्ग केन्द्रित गरेर दुईवटा ट्रमा सेन्टर निर्माण गरिने जानकारी दिएका छन् । उनका अनुसार राजमार्गमा सवारी दुर्घटनामा परेकालाई तत्काल उपचार गरी मृत्युबाट जोगाउने लक्ष्यका साथ अरनिको राजमार्ग खण्डअन्तर्गत जगातीस्थित सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्ने योजना छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यसका लागि बजेट विनियोजन गर्नेगरी योजना सार्वजनिक गर्ने उनको भनाइ छ । राजमार्ग लक्षित गर्दै धादिङमा ट्रमा सेन्टर बनाउने तयारी भइरहेको मन्त्री थापाले बताएका छन् ।