सुदूरपश्चिम, माघ २३ :

प्रहरीले धनगढी उपमहानगरपालिका- १८ एफगाउँबाट आज भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् । 

भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका- १९ का ३९ वर्षीय गुरूप्रसाद चौधरीलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।
 
उनीहरूको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी, टीकापुर र भजनी क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरिएको आठ लाख २३ हजार ३० मूल्य बराबरको मालसामान बेवारिसे अवस्थामा बरामद गरेको छ ।  

सीमापारि भारतीय क्षेत्रबाट ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएका सामानमा आइफोन र त्यसको कभर, डाटा केबल, राँगा, गोरू र डन्लप रहेको छ ।