
आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी लेजर पोर्ट नेपालले यसबारे जानकारी गराएको हो । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ मा ‘काठमाडौं पिंक केयरएथन’ गर्ने बताएको छ ।
काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायत विभिन्न कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ । केयरएथनमा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउनसक्ने बताइएको छ । घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई पिंक केयरएथनमा यसपटक २५ सयदेखि तीन हजार महिला सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
पत्रकार सम्मेलनमा लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु केयरएथनको उद्देश्य रहेको बताए ।
कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडबिल एम्बासडर घोषणा गरिएको छ ।