भक्तपुर, साउन ३२ :

भक्तपुरको गठ्ठाघरमा अहिले स्थिति तनाबग्रस्त बनेको छ ।

आज दिउँसो  ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको हो । 

    प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो ।   

 तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।

    दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थितिलाई सामान्य पार्न अश्रुग्याँसको प्रयोग गरेको छ । 

अझै स्थिति सामान्य भइसकेको छैन ।