काठमाडौं, माघ २६ :

नेपाल नेसनल अस्पतालले डायलासिस सेवाको सुरुआत गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमबीच शुक्रबार डायलासिस सेवाको शुभारम्भ गरे । डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषणलगायत विभिन्न कारणले गर्दा मिर्गौलारोगीहरुको संख्या बढिरहेको बताए ।

उनले मिर्गौलारोगीको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको बताए । उनले मिर्गौलारोगी बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेसनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको धारणा राखे । उनले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताए ।

‘अहिले हाम्रोमा स्वस्थ खानपानको अभाव, प्रदूषणलगायत विभिन्न कारणले गर्दा मिर्गौलारोगीको संख्या प्रतिदिन बढिरहेको छ । हाम्रो स्वास्थ्य व्यवस्थापनका सामुन्नेमा एउटा नयाँ चुनौतीका रुपमा उपस्थित भएको छ । यस्तो अवस्थामा मिर्गौला रोगीहरुको उपचारलाई केन्द्र भागमा राखेर सेवा विस्तार गर्नुपर्ने आजको आवश्यकता छ,’ उनले भने, ‘सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल भएको छ । नेपाल नेसनल हस्पिटलले जुन ढंगले डायलसिस सेवा सुरु गरेको छ । त्यसका लागि अस्पताल परिवारप्रति बधाई भन्न चाहन्छु ।’

कार्यक्रममा नेपाल नेसनल अस्पतालका आईसीयूविज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौलारोगीको अवस्था भयावह रहेको बताए । उनले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एकजना मिर्गौलाको बिरामी रहेको तथ्यांक रहेको बताए । उनले यही अवस्थालाई मध्यनजर गरेर अस्पतालले कलंकी क्षेत्रमा मिर्गौलारोगीका लागि डायलासिस सेवाको शुभारम्भ गरेको जानकारी दिए ।

एकपटक मिर्गौला रोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई धेरै गाह्रो हुने र औषधिको खर्च पनि धेरै हुने उनको भनाइ छ । उनले यसबाट परिवारमा पनि समस्या आउने गरेको बताए । ‘नेपालमा अहिले मिर्गौलारोगीको अवस्था अत्यन्त भयावह देखिएको छ । अहिलेको नेपालको स्थितिमा हेर्दा १६ जना वयस्क व्यक्तिमा एकजना मिर्गौलारोगी देखिने अवस्था आएको छ,’ उनले भने, ‘१६ व्यक्तिमा एक जनालाई मिर्गौलाको समस्या देखिनु भनेको ठुलो हो । कलंकी क्षेत्रमा सुविधा सम्पन्न डायलसिस सेवा होस् र मिर्गौला रोगीलाई सुविधा होस् भनेर यो सेवा सुरु गरेका छौँ । एकपटक मिर्गौलारोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई अत्यन्त गाह्रो हुन्छ । औषधिको खर्च पनि अत्यन्त ज्यादा छ । परिवारमा एकजना मिर्गौलाको बिरामी भएको खण्डमा सम्पूर्ण परिवार नै पीडित हुने अवस्था रहन्छ ।’

उनले सर्वसुलभ र राम्रो सेवा दिने उद्देश्यले नेपाल नेसनल अस्पताल स्थापना गरिएको जानकारी दिए ।