माघ २९ :

यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ खेल पत्रकार श्रीविक्रम भण्डारी सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको २९औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ‘मेरो खेल डटकम’का सम्पादक भण्डारीलाई सम्मान गरिएको हो ।

यसैगरी सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन् । दुवैजनालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले सम्मान गरे । भण्डारीलाई  २५ हजार नगद र ताम्रपत्र प्रदान गरियो ।  

त्यस्तै, कान्तिपुर टेलिभिजनमा कार्यरत सापकोटा पछिल्लो ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय रहेका छन् । उनले सम्मानसहित ताम्रापत्र र एक थान ल्यापटप प्राप्त गरे । मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने प्रयास भइरहेको बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ गतेदेखि कर्णाली प्रदेशमा आयोजना गर्ने तय भएको छ ।

त्यस्तै, राखेप सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको बताए । ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ मञ्चले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा उक्त अवार्ड प्रदान गर्दै आएको छ ।