
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गरेका छन् ।
गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत- नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक पर्ने बेत नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध गरेका हुन्।
“रथ बनाउन प्रयोग हुने बेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु, रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध छ, अब काठमाडौँ र आसामबीच सिधै हवाई उडानबाट यात्राको व्यवस्था मिलाउन सकियोस्, यसले दुई देशबीच आवतजावत बढ्छ, सम्बन्ध अझै बलियो हुन्छ”, उनले भने ।
नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा रोचक तथ्यबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवारलगायत गुहाटी र आसामका नागरिकलाई जात्रा हेर्न आउन निम्तासहित आह्वान गरे।
कुनै पनि किलाकाँटाको प्रयोगबिना बेतले बाँधेर रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने प्रचलन छ ।
कार्यक्रममा गुहाटी विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथले ललितपुर र भारतको सम्बन्धलाई बलियो बनाएको बताए ।
मजुली सांस्कृतिक विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डम्बरुधर नाथले भारत र नेपालबीचको प्रगाढ सम्बन्धको सेतु रातो मच्छिन्द्रनाथ भएको बताए ।
रातो मच्छिन्द्रनाथबारे गुहाटीमा छुट्टाछुट्टै विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले ‘नेपालमा गुरु मच्छिन्द्रनाथ’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।