
जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगन्ज महानगरलाई निर्देशन दिएको छ ।
महानगरभित्रै एउटा सामुदायिक विद्यालयको खोप केन्द्रमा खोप लगाउने क्रममा लापरवाही भएको जनाउँदै प्रशासनले कमजोरी सच्याउन वीरगन्ज महानगरलाई निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई सोमबार पत्र लेखेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा सञ्चालन भएको खोप कार्यक्रममा लापरवाही भएकाले सो खोप कार्यक्रम स्थगन गर्न पत्राचार समेत गरेका छन् छ ।
प्रजिअ नेतृत्वको अनुगमन टोलीले खोप लगाउने स्थानको सरसफाइमा ध्यान नदिएको, ‘सेफ्टी बक्स’को व्यवस्था नगरिएको र ‘भ्याक्सिङ केरियर’ तथा सिरिन्जसमेत फोहर भुइँमै राखेर खोप लगाइएको कमजोरी औँल्याएको छ । “ खोपस्थलमा न्यूनतम सावधानी, सरसफाइ, सुरक्षालगायत विषय उपेक्षित गरेको देखियो”, पत्रमा भनिएको छ, “आइसप्याकलगायत सामग्री, कटन तथा निडललगायत स्वास्थ्य उपकरणको उपयुक्त तवरले प्रबन्ध नपाइएको छ ।”
अनुगमनका क्रममा खोप सञ्चालनपूर्व काउन्सिलिङ तथा खोपपश्चात आराम गर्ने स्थलको प्रबन्ध नगरिएको र सहभागी किशोरीको नाम दर्ताका क्रममा विद्यालयका विद्यार्थीलाई प्रयोग गरिएको जनाएको छ ।
पर्साका १४ वटै पालिकाका ३८ हजार पाँच सय ३७ जना किशोरीलाई एचपीभी खोप लगाउने कार्यक्रम छ । जिल्लामा सोमबारसम्म पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेको छ ।
दोस्रो चरणको खोप अभियान भने माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने छ । अभियानअन्तर्गत महानगरको १७ देखि ३२ वडा र अन्य छ पालिकामा लगाइने कार्यक्रम छ । जसमा ठोरी, पकहाँमैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई पालिका र बहुदरमाई नगरपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।