काठमाडौँ, भदौ १ :

सोलखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट  आएको भीषण बाढीले थामे गाउँका एक होटल र दुई वटा घर बगाएको छ ।


स्थानीयले थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन ।

उनीहरुका अनुसार टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेर बाढी आएको हुनसक्छ ।

क्षतिको यकीन विवरण आउन  समय लाग्ने प्रहरीले जनाएको छ ।

दूधकोशी नदीमा बाढी आइरहेकाले  तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको  छ।

नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्छ ।

जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएकोले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।