
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।
सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा उनले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सह- रजिष्ट्रारहरू, नेपाल राष्ट्र बैङ्कका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।