काठमाण्डौं,साउन ११ : पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनु केही घण्टा अघि फ्रान्सेली उच्च गतिको रेल लाइनमा आगलागी भएको छ । फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलीटहरूले आक्रमण गरेको खेलमन्त्री अमेली ओडियाकास्टेराले बताउनुभयो ।

उच्च गतिको रेल सेवा नेटवर्कलाई प्रभावित पार्न भएको आगजनी सहितको आक्रमणले यातायात प्रणाली अवरुद्ध भएको छ । राष्ट्रिय रेल सञ्चालक ‘एसएनसिएफ तोढफोडजन्य कार्यको सिकार भएको छ भने आक्रमणले एटलान्टिक, उत्तरी र पूर्वी लाइनहरूलाई असर गरेको छ । आक्रमणपछि रेलहरू विभिन्न मार्गमा मोडिरहेको अवस्थामा ठूलो सङ्ख्यामा रद्द गर्नु परेको समाचार छ ।

कडा सुरक्षा ब्यवस्थाबीच ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा तीन लाख दर्शक तथा पाहुना उपस्थित हुने अपेक्षा गरिएको समय आकस्मिक आक्रमण गरी बदनाम गराउने प्रयास भएको छ । आज साँझ हुने परेडमा सात हजार ५ सय जनासम्म प्रतियोगीहरूले ८५ वटा डुङ्गामा साइन नदीको छ किलोमिटर यात्रा गर्नेछन् ।

आक्रमणपछि पेरिसको मोन्टपार्नास रेल स्टेसनमा रेल सेवा ३० मिनेटदेखि  साढे दुई घण्टाको ढिला हुने घोषणा भएपछि कैयौँ यात्रुहरू अलपत्र परेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) अध्यक्ष थोमस बाखले  पेरिस 2024 ओलम्पिक उद्घाटन समारोहको केही घण्टा अघि रेल प्रणालीमा तोडफोडको बारेमा आफ्नो प्रतिक्रिया दिदै फ्रान्सेली अधिकारीहरूमा पूर्ण विश्वास रहेको बताएका छन् ।