
काठमाडौँ, भदौ २ :
सोलुखुम्बुको खुम्बु क्षेत्रमा आएको बाढी हिमताल विष्फोट हो वा हिमपहिरो हो भन्ने बारेमा विज्ञहरुलाई एकिन गर्न अझै गार्हो भएको छ । तर जल तथा मौसम विज्ञान महाशाखाले प्रारम्भिक अनुमान चाहिँ यो बाढी हिमपहिरोका कारण हुनसक्ने जनाएको छ ।
महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल-हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने आँकलन सार्वजनिक गरेको छ ।
उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको महाशाखाले जनाएको छ । निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ ।