
झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल बनेको हो । उनले पुल निर्माण सम्पन्न भएसँगै पहुँच मार्ग विस्तारको काम भइरहेको बताए ।
२०८१ असार १७ गते सम्पन्न हुनेगरी देव एन्ड सायररसमतारआशिषदीप जेभीसँग विसं २०७९ पुस १७ गते २२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सम्पन्न गरेको उनले बताए ।
सूचना अधिकारी पन्तका अनुसार पहिलोपटक आव ०६४/६५ मा कालिका-ओसीए जेभीले १० करोड ३२ लाख रुपैयाँमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो ।
तीन सय ४८ मिटर लम्बाइ रहेको पुल दुई सय चार दशमलव आठ मिटर मात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो ।
‘पुल निर्माणपछि सवारीसहित आवतजावत सुरु भएको छ,’ उनले भने, ‘सम्भवतः यही महिनाभित्र पहुँच मार्ग निर्माणपछि पुल सञ्चालन सहज रूपमा हुन्छ ।’ पुलको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण पनि भइरहेको छ ।
उनले कनकाइ खोला पुल निर्माणसँगै पूर्वको मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सहज रूपमा सञ्चालनमा आउने बताए । ठेकेदारको लापरबाहीले सो पुल निर्माणमासमेत ढिलाइ भइरहेको छ ।