काठमाडौं, फागुन ४ :

लेबनानको राजधानी बेरुतमा नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको नेपाल सेनाले जानकारी दिएको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, आज मिति २०८१ फागुन ३ गते रातिको करिब १२ बजे लेबनानको राजधानी बेरुतनजिक युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी/भिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन् । घटना पश्चात उहाँलाई तत्कालै उद्धार गरी यूएन लेभल ३ हस्पिटल बेरुत पुर्‍याइएको थियो ।’ अस्पतालले उनको अवस्था अहिले खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा थिए ।

घटनाका सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी  सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।