इलाम, फागुन ५ :

जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । 

चालू आर्थिक वर्षमा सम्पन्न हुनेगरि दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् ।

 गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इन्जिनियर युवराज दाहालले जानकारी दिए । 

वडा नं १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ को लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ । 

वडा नं ३ को सिङलाबु टोलमा ३८ लाख २७ हजार नौ सय ७२ को लागतमा खोँगीखोला सिङलाबु सिँचाइ योजना सुरु भएको छ । त्यस्तै वडा नं ४ को सिङफेरेमार्चेबुङ टोलमा ८६ लाख १९ हजार सात सय ५० को लागतमा रतुवाखोला बधमारा सिङफेरे मार्चेबुङ सिँचाइ योजना सुरु भएको हो । 

आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत अर्थात् ८४ लाख दुई हजार तीन सय तीन तथा सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको २०/ २० प्रतिशत अर्थात्  ५६ लाख एक हजार तीन सय ३५ का दरले र स्थानीय उपभोक्ताको १० प्रतिशत अर्थात् २८ लाख सात सय ६७ लागत साझेदारी रहेको छ । 

त्यसैगरी यस वर्ष तीन सिँचाइ योजना मर्मतसम्भारको काम सुरु भएको छ । सोही कार्यक्रमअन्तर्गत वडा नं १ स्थित बयरबोटे टोलमा रु चार लाख ७९ हजारको लागतमा बरबोटे सिँचाइ योजना, सोही वडाको तीनघरे टोलमा चार लाख १९ हजार चार सयको लागतमा तीनघरे सिँचाइ योजना र वडा नं ३ को चतुवा बेँसी टोलमा १२ लाख १० हजार दुई सयको लागतमा रतुवा चिण्डे ठूलो बेँसी सिँचाइ योजना मर्मतसम्भारको काम भइरहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।