काठमाडौं, फागुन ५ :

प्रधानमन्त्री ‌केपी ओलीले अहिलेकै अवस्थामा भ्रष्टाचारीलाई मृत्यु दण्ड दिन नसकिने बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको प्रश्नोत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले अहिलेकै कानुनी व्यवस्थाअनुसार भ्रष्टाचारीलाई मृत्युदण्ड दिन नसकिने बताए । कसैलाई मृत्युदण्ड दिँदैमा समस्याको समाधान नहुने उनको भनाइ थियो ।

उनले नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हकमा कसैलाई मृत्युदण्डको सजाय दिनेगरी कानुन नबनाइएको पनि बताए ।

‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो। कहिलेकाहीँ प्रमाण नपुगेको हुनसक्छ,’ उनले भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’

नेपालको संविधानको धारा १६ मा रहेको सम्मानपूर्वक बाँच्न पाउने हकमा कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानुन नबनाइने कुरा उल्लेख छ ।