दैलेख, फागुन ६ :

दैलेखको दुल्लु नगरपालिका स्थित ११ वर्षीय एक बालकको हत्या भएको छ। प्रहरीले जानकारी दिएको अनुसार, सुनका चोरीका गहना बिक्री गर्ने विषयमा विवाद भएपछि ती बालकको हत्या भएको हो।

हत्या अभियोगमा १४ र १७ वर्षीय दुई किशोरलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार हत्यामा संलग्न दुई किशोर र मृतक बालक साथी हुन् । उनीहरूले मृतक बालककी आमाका सुनका गहना चोरी गरेर बिक्री गर्ने योजना बनाएका थिए। गहना बिक्रीको क्रममा विवाद हुँदा ती बालकको हत्या गरिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार माघ २५ गतेदेखि ती बालक सम्पर्कविहीन भएका थिए। परिवारको निवेदनपछि अनुसन्धान गर्दा बालकको हत्या गरी खाल्डोमा गाडिएको शव फेला परेको निरीक्षक सुनारले बताए।

दुई किशोरले बालकको हत्या गरेर उनलाई घर नजिकैको खोला किनारको खाल्डोमा स्वीकारेका छन्।यस घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।