खोटाङ, फागुन ६ :

खोटाङको हलेसी बजारमा भएको आगलागीबाट सात करोड ३० लाख बढीको क्षति भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरू भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो ।

आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिएका छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू- कल्याण होटेल, चारतले पक्की घर र घरको पछाडिपट्टि दुईतले काठको घर गरी दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।

साँझ करिब ७ बजेदेखि सुरू भएको आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख बराबरको क्षति भएको जनाइएको छ । 

आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारूहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख बराबरको भएको छ ।

आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पत्ति तथा भौतिक सामग्री जलेर नष्ट भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गरिरहेका र सङ्कलित राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने सर्वपक्षीय निर्णय भएको उनले बताए ।

स्थानीय पदमशेर राईको ग्यास पसल नजिकै रहेको भान्छा कोठाबाट आइतबार साँझ करिब ७ बजेतिर सुरू भएको आगो साढे चार घण्टापछि साढे ११ बजेतिर नियन्त्रणमा आएको थियो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा भएको आगलागी नियन्त्रणमा लिनका लागि पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।

हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा भएको आगलागीका घटनालाई दमकल अभावका कारण समयमै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको हो ।

हलेसीमा भएको आगलागीका घटनाका विषयमा विभिन्न निकायले दुःख व्यक्त गर्दै आगलागी पीडितका लागि तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।