
संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा नेपाली सेनाका सहायक रथी मानबहादुर महरा नयाँ डेपुटी फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले उपरथी चोकबहादुर ढकालको स्थानमा जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
उपरथी चोकबहादुर ढकालले आफ्नो दुई वर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्किन लागेको बेला प्रदर्शनकारीहरूले मध्यराति उनको गाडीमा आक्रमण गरेका थिए । प्रदर्शनकारीहरूले गाडीलाई रोक्दै ढकाललाई बाहिर निकालेर कुटपिट गरेका थिए । जसका कारण उनलाई टाउकोमा चोट लागेको थियो । त्यस क्रममा गाडीमा रहेका अन्य चार नेपाली शान्ति सैनिकहरू पनि सामान्य घाइते भएका थिए ।
घटनापछि लेबनानी सेनाले ढकाललाई उद्धार गरी यूएनको लेभल थ्री अस्पताल, बेरुतमा उपचारका लागि लगेको थियो । अस्पतालबाट आइतबार उनलाई डिस्चार्ज गरिएको छ । ढकाल अब स्वदेश फर्कने नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।
यस घटनापछि, लेबनानको सरकारी अधिकारीहरूले आक्रमणमा संलग्न कम्तिमा २५ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका छन् । हाल नेपाली सेनाका ५,९१८ सैनिक ११ विभिन्न मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएका छन् ।