काठमाडौँ, फागुन ७ :

सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९- ०८०)’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, मन्त्री भण्डारीले ‘विद्युतीय व्यापार (इ- कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजै बिहान ११ः १५ बजे राष्ट्रिय सभा बैठक बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “लोकसेवा आयोगको आर्थिक वर्ष २०८०- ८१ को पैँसट्ठीऔँ वार्षिक प्रतिवेदन” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

भौतिक पूर्वाधार तथा तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।