काठमाडौं, फागुन ७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (सांसद) सुमना श्रेष्ठले प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्नका लागि नाम टिपाएकी थिइन् । जब उनको पालो आयो र सभामुख देवराज घिमिरेले उनको कुर्सी तर्फ हेर्दै तीन पटकसम्म माननीय सुमना श्रेष्ठ भन्दै बोलाइरहे  । तर, बैठक कक्षमै हुँदा पनि श्रेष्ठ बोलिनन् र बोल्न पनि खोजिनन् ,आखिर किन त?

यसअघि सोमबारको बैठकको सुरुमै सांसद श्रेष्ठले बोल्न समय माग गरेकी थिइन् । तर, सभामुख घिमिरेले संसदीय परिपाटी अनुसार बोल्नको लागि पहिले नै नाम टिपाउनु पर्छ भनेपछि  उनी संसद भवन बाहिर आएर आफूलाई बोल्न नदिएको भन्दै सञ्चारकर्मी समक्ष रोष प्रकट गरिन् । सायद उनले हिजोकै कारण बोल्न नचाहेको हुन सक्ने आकलन गर्न सकिन्छ ।

उनले भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे कुरा उठाउन चाहेकी थिइन् ।हिजोको यो विषयलाई सभामुखको सचिवालयले पनि खण्डन गरेको छ । सचिवालयले सांसद श्रेष्ठको दादागिरी शैली भएको टिप्पणी गरेको छ ।