काठमाडौं, फागुन ८ :

बैंकिङ क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै क्षेत्रका व्यक्ति अर्थात् नुन बेच्नेदेखि सुन बेच्नेसम्म सबैलाई बैंकिङ पहुँचको दायरामा ल्याउने भनेको छ । अझ वित्तीय समावेशिता कायम गर्ने लक्ष्य लिए पनि व्यवहारमा भने त्यस्तो हुन नसकेको देखिएको छ ।

बैंकिङ क्षेत्रमा हाल रहेको निक्षेप र कर्जा खाताबीचको अन्तरलाई हेर्दा निक्षेपमा सबैको पहुँच पुगेको जस्तो देखिए पनि कर्जामा भने केही मुठीभरका व्यक्तिहरुको मात्र पहुँच पुगेको देखिनुले पनि त्यस्तो अवस्था उत्पन्न भएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ फाइनान्स कम्पनीसहित ५४ संस्थामा कायम रहेको कुल निक्षेप खाताको संख्या पाँच करोड ७९ लाख २५ हजार सात सय ९५ पुगेको छ । तर यसबीचमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने १९ लाख २५ हजार सात सय २४ मात्र रहेको छ ।

निक्षेप खाता पाँच करोड ७९ लाख पुग्दा कर्जा खाता १९ लाख मात्र

निक्षेप र कर्जा खाताबीचको यो तथ्यांकलाई हेर्दा यी दुई खाताको बीचमा निकै ठुलो खाडल रहेको देखिन्छ । जसको मतलब करोडौं निक्षेप खातामार्फत जम्मा भएको निक्षेप रकम केही लाख व्यक्तिहरुले मात्र चलाएको देखिएको छ । यसले गर्दा पनि नेपाली बैंकिङ क्षेत्रमा सबैको पहुँच स्थापित हुन नसकेको हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा पाँच करोड ३५ लाख ५० हजार तीन सय ६ वटा निक्षेप खाता सञ्चालनमा रहँदा सञ्चालनमा रहेका कर्जा खाताको संख्या भने १८ लाख ६७ हजार ८३ मात्र थियो ।

वाणिज्य बैंकहरुमा मात्र चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा चार करोड ९६ लाख ५१ हजार एक सय ३७ निक्षेप खाता सञ्चालनमा रहेकामा कर्जा खाताको संख्या भने १६ लाख पाँच हजार आठ सय १५ मात्र रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुमा चार करोड ५९ लाख ११ हजार ४२ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कुल कर्जा खाताको संख्या १५ लाख ३४ हजार चार सय १६ मात्र रहेको थियो ।

विकास बैंकहरुमा भने चालु आवको दोस्रो त्रैमासमा ७३ लाख ३९ हजार दुई सय ५६ वटा निक्षेप खाता सञ्चालनमा रहेकामा कर्जा खाताको संख्या भने दुई लाख ७५ हजार नौ सय ५० रहेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरुमा ६८ लाख दुई हजार पाँच सय ७० वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या भने दुई लाख ९० हजार चार सय ९१ वटा मात्र थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको दोस्रो त्रैमासमा फाइनान्स कम्पनीहरुमा नौ लाख ३५ हजार चार सय दुईवटा निक्षेप खाता सञ्चालनमा रहेकामा कर्जा खाताको संख्या भने ४३ हजार नौ सय ५९ मात्र छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुमा आठ लाख ३६ हजार ६ सय ९४ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या भने ४२ हजार एक सय ७६ वटा मात्र थियो ।