काठमाडौं, फागुन ८ :

नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदै छ । प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उक्त प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएका छन् ।

प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठले चुनौती प्रस्तुत गर्दै छन् । जुनियरमा भने बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने नेपाल एथ्लेटिक्स संघले जनाएको छ ।

उनीहरूको प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बुधबार नेपाली टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा घिसिङले आफूले गरेको प्रशिक्षणअनुरूप प्रतियोगिता पनि देखाउन सुझाव दिए ।

साथै उनले एसियन गेम्सको तयारीमा रहेको मिसन २०२६ मा स्थान बनाउन उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिँदै अहिले मिसन-२०२६ मा रहेका खेलाडीले राम्रो गर्न नसके उनीहरूको स्थानमा नयाँ राम्रा खेलाडीले अवसर पाउने स्पष्ट पारे ।