काठमाडौं, फागुन ८ :

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकारअन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् ।

उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकारअन्तर्गतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘काम गर्दा तपाईंहरूले केवल बैंकिङ प्रणालीका आधारभूत सीप मात्र होइन, अपार नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ ।’ उनले प्रविधिको प्रभाव र यसको महत्त्वलाई सम्बोधन गर्दै प्रविधिको युगमा बैंकिङ क्षेत्रका लागि नयाँ अवसर र चुनौतीहरू आएको बताए ।

‘यदि तपाईं बैंकिङ क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहनुहुन्छ भने, तपाईंलाई डिजिटल प्लेटफर्म र प्रविधिसम्बन्धी ज्ञान प्राप्त गर्न अनिवार्य रूपमा ध्यान दिनुपर्छ । यससँगै ग्रिन फाइनान्स र म्याक्रो फाइनान्सजस्ता नयाँ क्षेत्रमा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने । थापाको भनाइअनुसार, बैंकिङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीहरूलाई स्वीकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको छ ।