
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले यूएसएडको सहयोग लिएर धर्मविरोधी प्रचार गरेको भनी लगाइएको आरोपको खण्डन गरेका छन् ।
महजोडीले बिहीबार एक भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा आएका यी सबै कुराहरू भ्रामक र आधारहीन भएको बताएका छन् ।
समाजमा सचेतना फैल्याउने खालका कामहरू गरेको र ती कामहरूका भिडियोहरू पनि भएका कारण सत्यतथ्य जाँच गर्न सकिने भन्दै भ्रमको पछि नलाग्न उनीहरुले अनुरोध गरेका छन् । आफ्ना प्रस्तुतिमा धार्मिक समानता र सहिष्णुताका कुरालाई प्रमोट गरेको जिकिरसमेत उनीहरूले गरेका छन् ।
‘संसारमा राम्रा-नराम्रा दुवै खालका कुराहरू छन्,महजोडीले भनेका छन्, ‘हामीले जहिले पनि राम्रा कुरालाई प्रमोट गरेका छौं ।’
कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गर्न आग्रह गर्दै उनीहरुले हितैषीहरूले समेत अविश्वास गर्दा चित्त दुखेको बताएका छन् ।