नयाँ दिल्ली, फागुन ९ :

भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकी छन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, संघीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए।

दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।

समारोहमा मुख्यमन्त्री गुप्ताले सपथ ग्रहण गरेसँगै उनको मन्त्रीमण्डलमा भाजपाका प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्रीपदको सपथ लिएका छन् ।

राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, ‘गुप्तालाई सङ्घीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुशी लागेको छ । नियुक्ति शपथ लिएको मितिदेखि लागू हुनेछ।’ ७० सदस्यीय दिल्ली विधानसभामा भाजपाले ४८ सिट जितेको छ ।

सांसद रेखा गुप्ताले यो ‘चमत्कार’ र ‘नयाँ अध्याय’ भएको र यसले राजनीतिमा महिलाका लागि परिवर्तनकारी अध्यायको सुरुवात गरेको बताइन् । पत्रकारसँग कुरा गर्दै गुप्ताले भ्रष्टाचारीलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै हरेक रुपैयाँको दुरुपयोगको जवाफ उनीहरूले दिनुपर्ने बताइन् ।

उनले आफ्नो नेतृत्वमा रहने सरकारले जो कोही भ्रष्टाचारी भए पनि एक–एक रुपैयाँको हिसाब किताब माग्ने बताइन्।

यसअघि, भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित विधायकहरूको बैठकले रेखा गुप्तालाई विधायक दलको नेतामा चयन गरेको थियो ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्ताको तल्लो तहको देखि महत्वपूर्ण राजनीतिदेखि मुख्यमन्त्री पदसम्मको यात्राबारे प्रकाश पार्दै उनको नेतृत्वमाथि विश्वास व्यक्त गरेका छन् ।