
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीबीच सवालजवाफ भएको छ । प्रमुख सचेतक समेत रहेका शाहीले अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको हिसाव माग्नुपर्ने बताएपछि त्यो अबस्था सिर्जना भएको हो ।
उनले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भन्नुभएकाले कसले र किन ल्यायो छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।
उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शिर झुकेको भन्दै भ्रष्ट नेताहरुकै कारण यस्तो भएको जिकिर गरे । नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ ।
प्रमुख सचेतक शाहीले एमसीसी पास गर्नेहरुप्रति व्यङ्ग्य गर्दै अमेरिकाले चिलिम देखाएपछि उनीहरु देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको जिकिर गरे। उनले एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्था पुगेको दाबी गरे ।
नेपाली जनताले चिया खाने पैसा कटौती गरेको ट्याक्सको रुपैयाँ त्यहाँ परेको छ ? यतिखेर को को हुन् जवाफदेहि ? यो समितिको विषयवस्तु बन्छ । किनभने हाम्रो पैसा त खेर गयो नि । आज लथालिङ्ग भएका छन् आयोजना योजनाहरु उनले भने, ‘यो सेतो भ्रष्टाचार भएको हुनाले सिग्नेचर गर्ने को को हुन् ? हुलदंगा गरेर पास गर्ने को को हुन् ? यसको जवाफ माग्छु ।’
भ्रष्ट नेताहरुकै कारण नेपालको अर्थ व्यवस्था तथा अयोजना योजनाहरु लथालिङ्ग भएको भन्दै उनले सेतो भ्रष्टाचार गर्नेहरु को-को हुन् छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।
सांसद शाहीले बोलिरहँदा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की सुनेर बसिरहे । उनले अलिनै धेरै बोल्न थालेपछि कार्कीको पारो तात्यो र जवाफ फर्काउन थाले ।
सांसद शाहीको प्रश्न झर्न नपाउँदै कार्कीले दोहोर्याएर भने, ‘एमसीसीमा सिग्नेचर गर्ने मै हो ।’उनको जवाफ पछि सांसद शाही हाँस्दै समितिको अर्को बैठकसम्म राष्ट्र बैंकलाई पत्रचार गरेर यसको रिपोर्ट माग गर्ने बताए ।