
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भएका भाषाहरु जोगाउनु आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार भाषा प्रयोगशाला उद्घाटन समारोहमा उनले भाषाहरु नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताए । उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरुको संरक्षण र संवर्धन गर्नु रहेको बताए ।
भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरुको अभिभाकत्व लिएर भाषाको संरक्षण र प्रवर्धन गर्न जरुरी रहेको उनको भनाइ छ । उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानुन मन्त्रालयमा पुगेको उल्लेख गरे ।
‘भाषाहरु बढ्नसक्ने सम्भवना छ । तर भएका भाषाहरु जोगाउनु नै हाम्रो प्रमुख चुनौती हो । भाषा आयोगको प्रमुख चुनौती संविधानमा जे लेखियोस्, कानुनमा जे लेखियोस् । तर यसको स्पिरिटलाई पक्रिने हो भने जोगिएका भाषा त जोगिएकै छन् । विकसित भएका भाषा त विकसित भएकै छन्,’ उनले भने, ‘मैले बोलिरहेको नेपाली भाषामा त मानिसहरु लागेकै छन् । जो भाषामा कोही पनि छैनन् । जसको सहारा कोही पनि छैनन् । ती भाषा जोगाउने काममा यसको सहारा म हुँ, अभिभावक म हुँ, मैले जोगाउँछु भनेर भाषा आयोगले काम गर्नेछ । त्यसका लागि आवश्यक पर्ने ऐन, जुन कानुन मन्त्रालयमा छ भन्नुभएको छ, यो संघीय भाषा ऐन बनाउने सन्दर्भमा मन्त्रालयका तर्फबाट तत्परता देखाउनेछु ।’
मन्त्री पण्डेले भाषा दशकका बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने पनि धारणा राखे ।