भद्रपुर, फागुन १० :

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज (शुक्रबार) भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

ब्लेजर्सका लागि मिलन राईले खेलको ७२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १-० को स्थितिमा पुर्‍याए । पहिलो गोल भएको दुई मिनेटमा ब्लेजर्सका राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए ।

ब्लेजर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ दी म्याच भएका छन् । भोलि (शनिबार) हुने दोस्रो क्वाटरफाइनलमा झापा-११ र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।