म्याग्दी , फागुन ११ :

म्याग्दीको धौलागिरि गाउँपालिका- ४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका हुन् । 

ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी- १ जलविद्युत् आयोजनाले पूर्वाधार सुरु गरेको छ भने हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ । 

त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माणको तयारी गरेको छ ।

म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठ वटा जलविद्युत् आयोजना दर्ता भएको मध्ये तीन वटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । 

मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका- ७ भारवाङमा विद्युत्गृह रहने अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरूङबाँधतर्फका पूर्वाधार निर्माण सुरू गरेको छ । 

विसं २०८१ वैशाख २८ गतेदेखि पूर्वाधार निर्माण गर्न सुरू गरेको आयोजनाले कूल पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये पाँच सय ३० मिटर सुरूङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।

मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युत्गृहको पहुँचमार्ग निर्माण गरेको छ । नाउरादेखि छ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युत्गृहको लागि पूर्वाधार बनाउने र सुरूङ निर्माणको तयारी गरिएको छ ।

सुरूङ निर्माण र विद्युत्गृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले जानकारी दिए ।

मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरुङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तिले बताए ।