काठमाडौं, फागुन ११ :

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।

स्वयम्भू महोत्सवको उद्घाटन गर्दै शनिबार उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरे । उनले महेत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवर्द्धगर्ने बताए ।

मेयर साहले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउनसके नेपालले धेरै प्रगति हासिल गर्ने धारणा राखे । उनले नेपाली परिकारहरु धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरुले सिको गरेर खाने गरेको बताए ।

‘हाम्रो विशेषता नै यही हो । हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यि तीन वटै कुरालाई प्रचार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो । अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ कि छैन ? प्रोटिन छ कि छैन । यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ,’ उनले भने, ‘हाम्रो स्थनीय परिकारहरुमा न्युट्रिसियन भ्याल्युहरु एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्नेकुरा हामीले प्रचार गरिरहेका हुँदैनौं । हाम्रो स्थानीय उत्पादनहरुमा के कति पाइन्छ भन्ने कुरा विस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढ्छ । हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ । अहिले विदेशीहरुले कुार बुझ्दै हाम्रो खाने कुराहरु अपनाउन थालेका छन् । यसलाई प्रवर्द्धन गर्दै जानुपर्छ ।’

स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नम्बर १५ को आयोजनामा एक साताको स्वयम्भू महोत्सव आज (शनिबार) बाट सुरु भएको हो ।