म्याग्दी, फागुन १२ :

रघुगङ्गा गाउँपालिका- २ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले- भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

आर्थिक वर्ष २०७३र ७४ देखि सङ्घीय सरकारको वार्षिक कार्यक्रममा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आव २०८१- ८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले चालु आवमा ५० लाख बजेट विनियोजन भएको बृहत् पिप्ले- भगवती खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले रु १० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाउन सहमति दिएको जानकारी दिए ।

अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्का आह्वानको तयारी गरेको उनले बताए ।