काठमाडौं, फागुन १२ :

नेकपा एमालेका सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा भट्टराईले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिएको दाबी गरेका हुन् ।

'दुर्भाग्यवश हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो । सर्वसाधारणको घरमा आगो फाल्ने काम भयो उनले भने,’ ‘सुरक्षाको निम्ति बसिरहेका सुरक्षाकर्मीहरूमाथि सांघातिक हमला गर्ने काम भयो । थुप्रै सुरक्षाकर्मी पनि घाइते हुने स्थिति सिर्जना भएको छ ।'सुरक्षाकर्मीहरुको संयमताले थप गतिविधि हुनबाट जोगिएको पनि भट्टराईले बताए ।

उनले विकास निर्माण र धर्मसंस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रुप लिने समेत बताए । केबलकार निर्माणको विषयमा व्यक्तिको निजी स्वार्थ प्रयोग भइरहेको भट्टराईको भनाइ थियो ।

भट्टराईले केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा जोडदिए । ताप्लेजुङ जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको छ ।