
निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आए पनि निर्माण व्यवसायीमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ ।
एकदुम्जा-मरिनखोला-कपिलकोट-लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा श्रीजयन्ती-बिरुवा-ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियार सहित आक्रमण गरी सख्त घाइते बनाइएको महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा भत्सर्ना गर्दै घटनाप्रति खेद समेत व्यक्त गरेका छन् । उक्त आक्रमणमा संलग्नलाई तत्काल कानुनी कठघरामा ल्याई कारबाही गरी, पीडितलाई क्षतिपूर्ति दिन तथा देशभरका निर्माण व्यवसायीहरूसहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन महासंघले नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।
निर्माण व्यवसायीहरूमाथि हुने यस किसिमका दण्डनीय अपराधमा संलग्नलाई कारबाही नगरिए देशभरका निर्माण कार्य ठप्प पारी पेसागत सुरक्षाका लागि महासंघ आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।