
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच प्रतिस्पर्धा हुँदैछ ।
यो खेल आज अपराह्न ३ः०० बजेदेखि मेची रङ्गशालामा सुरु हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । यसैगरी विदेशी क्लब काउर्न बाजारले न्युरोड टिम (एनआरटी)लाई हराउँदै आयोजक ब्लेजर्ससँगको भेट पक्का गरेको हो ।
गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख तथा उपविजेता टोलीले नगद सात लाख प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद २५ हजार प्रदान गरिनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार नगद पुरस्कार रहेको गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।