जुम्लाको पातारासी गाउँपालिका- ३ स्थित लौठचौरमा निर्माण हुने भनिएको ‘कर्णाली हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर’को काम अझै अघि बढेको छैन ।
तालिम केन्द्रको नाममा जग्गा पास नहुँदा निर्माण रोकिएको छ । विद्यालयको नाममा रहेको जग्गामा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माण गर्ने कि अर्को ठाउँमा निर्माण गर्न विषयमा विवाद हुँदा निर्माण अघि नबढेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।
जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठकबाट निर्णय गरेर छिट्टै जग्गा विवाद टुंगो लगाई ट्रेनिङ निर्माणको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ । विद्यालयको जग्गा छोडेर बाँकी रहेको जग्गामा समेत उक्त ठाउँमा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माण गर्न सकिन्छ ।
जग्गा विवाद देखाएर सरकारबाट विनियोजन भएको बजेट सदुपयोग गर्न नदिने खेल भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । विश्वको सर्वाधिक उचाइमा धान फल्ने पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य ट्रेनिङ सेन्टरले लिइएकोे गाउँपालिका उपाध्यक्ष रोकायाको भनाइ छ ।
विभिन्न चरणमा गरेर सरकारको करिब तीन करोड पैसा ट्रेनिङ सेन्टर निर्माणमा खर्च भइसकेको छ । ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा पालिका वडा नं. ३ का स्थानीयवासीले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको वडाध्यक्ष गोविन्द रावतले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८१ र ८२ मा ६ करोड २९ लाख बजेट विनियोजन भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतमा ४ करोड र शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा २ करोड २९ लाख ३० हजार बजेट ट्रेनिङ सेन्टरको नाममा विनियोजन भएको आयोजनाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।