काठमाडौं, फागुन १८ :

स्किल सेवाको आयोजनामा नेपालमै पहिलोपटक काठमाडौंको बुद्धनगरमा जारी राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ ।

नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनिबाट गर्ने र निर्माणसम्बन्धी मापदण्डका विषयमा समेत छलफल गर्ने गरी सुरु भएको महोत्सवमा इको प्यानलले आफनो पनि स्टल राखेर सहभागिता जनाएको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले महोत्सवमा सहभागीहरुलाई आफूहरुको आधुनिक निर्माण सामाग्रीबारे जानकारी गराउन स्टल राखेको जानकारी गराए । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसनका रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।

फेस्टमा निर्माणसम्बन्धी अत्याधुनिक प्रविधि देख्न पाइन्छ । साथै सबैभन्दा सस्तो मूल्यमा तयार हुने आरसीसी घरहरुको समेत विस्तृत जानकारी लिन सकिन्छ । ‘हरेक व्यक्तिका लागि आफू बस्ने घर भनेको जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो र यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दो, सुरक्षित एवं दिगो बनाउनु जरुरी छ,’ आयोजकले भनेको छ । महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा लिएको आयोजक स्किल सेवाले जनाएको छ ।

बिहीबारदेखि सुरु भएको घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौं उपत्यकका नगरपालिकाहरू, वास्तुकलाविद्, उद्यमी, विद्यार्थीलगायता अन्य इच्छुकले एउटै छतमुनि घर निर्माण एवं विभिन्न ममत सम्भारसम्बन्धी महत्त्वपूर्ण पलबारे छलफल गर्नेछन् । तीनदिने महोत्सव आज शनिबार सकिँदै छ ।