काठमाडौं, फागुन १९ :

अधिक तरलता नियन्त्रणमा नआएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।

यसअघि मंगलबार मात्र राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ खिचेको थियो । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपराह्‍न ३ बजेसम्ममा अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत उक्त परिमाणमा रकम तानिनेछ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ-ब्याज भुक्तानी मिति चैत १० गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्‍वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोका रुपमा समेत राख्ने सकिनेछ ।