
जिल्लाको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बङ्गुर मर्न थालेका छन् ।
दश दिनको अवधिमा बरेङ- २ हुग्दिशिरको सिग्दी र बरेङ बजार आसपासमा अज्ञात रोगका कारण छ वटा बङ्गुर मरेपछि किसान चिन्तित बनेका हुन् ।
अज्ञात रोगले अन्दाजी ५० किलोको एक र तीन महिनाको दुई वटा पाठा मरेको सिग्दीकी शिला थापाले बताए । भाटी बजारका सविन राम्जालीको झण्डै ५० किलो, सातदोबाटोका मोहन पुनको करिब ४५ किलो र फटिक पुनको बङ्गुर पनि अज्ञात रोगले मरेका छन् ।
बङ्गुरमा एक्कासी ज्वरो आउने, दानापानी नखाने, बाक्ने, पखाला लाग्नेलगायत लक्षणहरू देखा परेको भाटीबजारका सविन राम्जालीले बताए । अज्ञात रोगले बङ्गुर मर्न थालेपछि किसान मर्कामा परेका उनको भनाइ छ ।
पालिकाको पशुसेवा शाखा प्रमुख नारायण पौडेलले मरेका सबै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानामा समस्या हुनसक्ने आशङ्का रहेको बताए ।
महामारीजन्य रोग हो वा होइन पत्ता लगाउन स्वाब सङ्कलन गरेर परीक्षणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाउन लागिएको उनले जानकारी दिए ।
पौडेलका अनुसार अहिले अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण नदेखिएकाले अरु कारणले बङ्गुर मरेका हुन् ।
प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै किसानका बङ्गुर कसरी मरे भन्ने पत्ता लाग्ने उनको भनाइ छ ।
गत वर्षको जेठमा फैलिएको अमेरिकन स्वाइन फिभरबाट बागलुङ नगरपालिका– १, २, ३ र ४ का ५४ किसानले पालेका चार सय बङ्गुर मर्दा दुई करोडभन्दा बढीको क्षति भएको थियो ।