चितवन, फागुन २० :

दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । 

भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरूको भनाइ छ । 

विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलन मूल्य बाहेक ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यो मूल्यमा ३ रुपैयाँ कम गरेर लैजाने गरेको  जानकारी दिए । 

दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै  मूल्य घटाउने गरेको किसानको भनाइ छ । अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन ।

जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उनले बताए । 

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।